हाम्रो विवेक कता हरायो ?

SHARE:
  •  
  •  
  •  

उहिले पुर्खाहरुले ठिकै भने, ‘आफ्नो कान छाम्नु छैन, कागको पछाडि दौडने ।’ अहिलेको पुस्ताले यो उखानलाई अधकल्च बुझेका होलान् । खास कुरो यस्तो छ ।

‘कागले कान लग्यो, कान लग्यो ।’ मान्छेहरु कराउँछन् । काग आकासतिर बत्तिएर उडिरहेको छ । सबै कागलाई लखेट्न पछि-पछि दौडन्छन् । कागले कसको कान लग्यो ? कसैलाई थाहा छैन । सबैको कान त सही हालतमै छ ।

आफ्नो कान नछामी कागको पछाडि दौडने यो प्रवृत्ति अहिले अरु मौलाएर गएको छ ।

भर्खरै मात्र वनेपामा एक पुरुषलाई ‘सिरिन्ज आक्रमण गरेको’ भन्दै अन्धधुन्द कुटपिट गरियो । भलै, यो घटनाको सत्यतथ्य आउन बाँकी नै छ । उनी दोषी हुन् वा होइनन् ? अनुसन्धानले देखाउनेछ । अहिलेसम्मको अवस्थामा उनले सिरिन्ज आक्रमण गरेको पाइएको छैन । सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाले ‘मलाई सिरिन्ज आक्रमण भयो’ भन्दै चिच्याएपछि अरु यात्रुले उनै पुरुषमाथि हातपात गर्न थाले । लछारपछार गर्न थाले ।

त्यती मात्र होइन, उनलाई ‘सिरिन्ज आक्रमणकारी’ भन्दै मोवाइल, ट्याबबाट भिडियो खिच्नेहरु ताँती लागे । क्षणभरमै सामाजिक सञ्जालमा ति भिडियो ‘भाइरल’ भयो ।

यदि उनले अपराध गरेको हो भने त ठिकै होला ।

तर, निर्दोष सावित भए भने ? उनले सिरिन्ज आक्रमण गरेको रहेनछ भने ? उनीमाथि झुटो आरोप लागेको रहेछ भने ?

सोच्नुहोस् त, उनले बेकसुर भोगेको सजायको जवाफदेही को हुन्छ ? उनले झेलेको अपमान, पीडा, दूव्र्यवहारको जिम्मा कसले लिन्छ ? सामाजिक सञ्जालभरी उनको जुन बदनामी भयो त्यसको क्षतिपूर्ति कसले दिन्छ ? उनी स्वयम् र उनको परिवारले भोगेको मानसिक प्रातडनाको क्षतिपूर्ति कसले गर्छ ?

यी प्रश्नहरुको जवाफ हामीसँग छैन । किनभने हामी गैरजिम्मेवार छौं । हामीलाई अरुको जीवनको मूल्य थाहा छैन । त्यही कारण हामी अनावश्यक उक्साहटमा लागेर जे पनि गर्छौं, जे पनि भन्छौं । हामीमा किन यस्तो प्रवृत्ति मौलायो ? मानव हुनुको गुण किन हामीले गुमायौं ? किन हामीमा राक्षसी स्वभावले प्रवेश गर्‍यो ?

हाम्रो विवेक कता हरायो ?

कुनैपनि कुरा सही हो वा होइन ? गलत हो वा होइन ? छुट्याउनका लागि हामीले ल्याब टेस्ट गरिरहनु आवश्यक छैन । कुनै प्रयोगशालामा पुर्‍याउनु पनि आवश्यक छैन । किनभने प्रकृतिले हामीमा चेतना, विवेक दिएको छ । चेतना र विवेकले नै हामी के सही र के गलत भन्ने कुरा छुट्याउन समर्थ छौं ।

तर, आज हामी आफ्नो विवेक र चेतनाको बिर्को लगाएर हल्लाको पछाडि दौडिरहेका छौं । अरुले जे भन्छ, हामी पनि त्यही भनिरहेका छौं । अरुले जे गर्छ, हामी पनि त्यही गरिरहेका छौं ।

नेता गणेशमान सिंह उहिले यस्तै प्रवृत्तिलाई ‘भेडा’ भनेर सम्बोधन गरेका थिए । भेडाको लस्कर जब भिरमा पुग्छ, अनायसै लड्न थाल्छ । उक्त लस्करमा भएका सबै भेडा त्यसरी नै लड्छ, जसरी पहिलो भेडा लडेका थिए । अर्थात पहिलो भेडा लडेपछि दोस्रो, तेस्रो, चौथो भेडाले सोचेनन् कि यहाँ लडिन्छ भन्ने कुरा । उनीहरुको विवेक र चेतना हरायो ।

अहिले हामीले पनि आफ्नो विवेक र चेतना गुमाएका छौं । त्यसो नहुँदो हो त अरुको हल्लाको पछाडि दौडने थिएनौं । कसैले केही भन्छ, केही गर्छ भने सही के हो ? यर्थाथ के हो ? हामीले कम्तीमा विवेचना गर्नुपर्छ । मन्थन गर्नुपर्छ । भिडले गतल देखाएको कुरा गलत नै हो त ? हाम्रो विवेकले छुट्याउनुपर्छ ।

यदि हामीलाई विवेक नचाहिने भएको भए किन प्रकृतिले यसको रचना गर्ने थिए ?

सत्य के हो ? खोजौं

गौतम बुद्धको आदर्शलाई आज विश्वले अंगालेर हिँडेको छ । बुद्धिज्मलाई स्विकार्ने र अंगाल्नेको संख्या आज करोडौं छन् । यद्यपी गौतम बुद्धको भनाईको सार यस्तो थियो, ‘मैलें जे भने त्यसलाई तिमीले अकाट्य मान्नुपर्छ भन्ने छैन । आफैले पनि निरिक्षण गर्नु । जाँच गर्नु । तिमीलाई यो सही हो भने त्यसलाई अंगाल्दा हुन्छ ।’

यसको अर्थ के हो भने कसैले भनेको कुरा आँखा चिम्लेर पत्याउनुपर्छ, मान्नुपर्छ भन्ने छैन । तपाईंले आफ्नो विवेकको प्रयोग गरेर त्यसको सत्यता पहिल्याउन सक्नुहुन्छ । जब तपाईंको विवेकले सही ठहर्‍याउँछ, तबमात्र तपाईंले त्यसमाथि विश्वास गर्नुपर्छ ।

तर, आज हामी हल्लाको पछाडि दौडिरहेका छौं । त्यसको वास्तविकता के हो ? सत्यता के हो ? हामीले खुट्याउन सक्ने अवस्थामा छैनौं । अरुले जे भन्छ, त्यही कुरालाई स्विकारेर बसेका छौं ।

कवि भूपि शेरचनले त्यसैले लेखेका थिएनन्, ‘यो हल्लै हल्लाको देश हो ।’

अहिले सामाजिक सञ्जाल ‘बाँदरलाई भर्‍याङ’ भएको छ । हल्ला फैलाउने र त्यसलाई आँखा चिम्लेर अनुमोदन गर्नेहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु