उपत्यकाको १ सय ३४ स्थानमा ‘शक्तिशाली बम’- ठुलो छेतीको आशंका !

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डिजेल, पेट्रोलजस्ता इन्धन बोक्ने ट्याङ्करमा लेखिएको हुन्छ, ‘अत्यधिक प्रज्ज्वलनशील ।’ अर्थात् यो एकदमै छिटो बल्न सक्छ । यस्ता इन्धनले चाँडै आगो समात्न सक्छ र आगोको नजिक परेमा चाँडै समात्न सक्छ ।

अत्यधिक प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भनेपछि यसको प्रयोग र भण्डारणमा पनि विशेष सुरक्षा अपनाउनु पर्ने नै हो ।

तर काठमाडौँ उपत्यकाका १ सय ३४ स्थानमा रहेका पेट्रोल पम्पले न्यूनतम सुरक्षा व्यवस्था नगर्दा यसले भविष्यमा गम्भीर खतराको घण्टी बजाइरहेको छ ।

उपत्यकामा रहेका अधिकांश पेट्रोल पम्प जोखिममा रहेका छन् । अति प्रज्ज्वलनशील पदार्थ बिक्री–वितरण गर्ने स्थल मापदण्डअनुसार सञ्चालन नहुँदा यसले गम्भीर सुरक्षा खतरा बढाएको छ ।

‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली –२०७५’ अनुसार, पेट्रोलियम पदार्थ बिक्रेताको लागि उपत्यकाभित्र पम्प सञ्चालन गर्न कम्तीमा ७ सय ५० वर्ग मिटर अर्थात् ८ आना जग्गा र सडकतर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । तर उपत्यकामा सञ्चालित १ सय ३४ वटै पेट्रोल पम्पलाई यो विनियमावलीले छुन सकेको छैन ।

अनुगमन नै कमजोर
पेट्रोल पम्प मापदण्डअनुसार सञ्चालन भए नभएको बारे अनुगमन गर्न काठमाडौँ महानगरपालिकाले सुझाव दल गठन गरे पनि कानुनको अभाव देखाउँदै राजधानीका पम्पहरुको अनुगमन गरिएकोे छैन । सहरी सुव्यवस्थापन विभागका प्रमुख तथा पेट्रोल पम्प अनुगमन सुझावदलका संंयोजक हरि कुँवरले पम्पका विषयमा कानुन मन्त्रालयमा पम्पसम्बन्धी कानुनको मस्यौदा बन्दै गरेकाले महानगरले अनुगमन नगरेको बताए ।

कुँवरका अनुसार उपत्यकाका सञ्चालित अधिकांश पेट्रोल पम्पहरु मापदण्डविपरीत भए पनि स्पष्ट कानुनको अभावमा कारबाही गर्न भने सकिएको छैन ।

असुरक्षितरूपमा पेट्रोल र डिजलको खुलेआम बिक्री वितरणले जुनसुकै समयमा पनि विपत्ति आउन सक्ने उनले बताए । ‘मापदण्ड नमान्दा आपतकालीन अवस्था आउन सक्छ,’ उनले भने, ‘मापदण्डमा आधारित भएर पम्प सञ्चालन हुनुपर्छ ।’

मापदण्ड विपरीत सञ्चालनमा आएका केही पम्पहरुका नमुना

मापदण्ड विपरीत सञ्चालनमा आएका पेट्रोल पम्पमध्ये भ्याली रिकेश सप्लायर्स पनि एक हो ।

सवारीमा यात्रा गर्दा होस् वा पैदल हिँड्दा, कोटेश्वर र तीनकुने सकिने बित्तिकै सिनामङ्गल सडक खण्डको दायाँपट्टि रहेको यो पेट्रोल पम्प सडकसँगै जोडिएको छ ।

एअरपोर्ट नजिकैको उक्त पम्पमा डिजेल र पेट्रोल गरी दुई ट्ङ्याङकी ‘फ्युल डिस्पेन्सर’ छन्, जुन फुटपाथसँगै जोडिएको छ । जसले गर्दा सवारीसाधन तेल भर्न आउँदा र निस्कँदा फुटपाथमै रोकिने भएकाले पैदलयात्रुले सास्ती खेपेका छन् । पम्पकै छाना नजिकैबाट बिजुली, केबल, इन्टरनेट र टेलिफोनका तारहरु वारपार गराइएको छ । तेल बिक्रेताले उपभोक्ताका लागि नोजल समाएर फुटपाथ नजिकै आएर पेट्रोल डिजल भरिदिने गरेका छन् । नेपाल आयल निमगको आधिकारिक बिक्रेता बनेर सञ्चालनमा ल्याइएका पम्पको कम्पाउन्डसमेत छैन ।

उपत्यकामा अधिकांश पेट्रोल पम्प मापदण्ड विपरीत सञ्चालित छन् । अधिकांश पम्प बस्तीका बीचमा नै छ । यदि पम्पमा भरी तेल भएको अवस्थामा आगलागी भएमा त्यसले ठूलो भौतिक तथा मानवीय क्षति निम्त्याउन सक्छ । आगलागी भइहाले नियन्त्रणमा लिनै नसकिने अवस्था पनि आउँछ र यसले सयौँको ज्यान लिन पनि सक्छ ।

यो तस्बिर चाहिँ शान्तिनगरस्थित हरिसिद्धि आयल स्टोरको । यहाँ पनि हालत त्यस्तै छ । पेट्रोल भर्न पम्पमा जाँदा र निस्कँदा पैदलयात्रुहरुले सास्ती भोग्दै आएका छन् । पेट्रोलियम पदार्थ भण्डारण र कारोबार गर्दा आउन सक्ने जोखिमलाई न्यूनीकरण गर्न उक्त पम्पमा पूर्वतयारीका पर्याप्त पूर्वाधार समेत छैनन् ।

जोखिमपूर्ण अवस्थामा सञ्चालनमा रहेका यी दुई पेट्रोल पम्प सामान्य उदाहरण मात्रै हुन् । उपत्यकामा सञ्चालित अधिकांश पेट्रोलपम्पको प्रतिविम्ब हुन् यी दुई पेट्रोल पम्प ।

त्रिपुरेश्वर चोकमा मायाराम भोलाराम आयल स्टोर पनि सडक नजिकै छ । पम्पको क्षेत्रफल आठ आना भए पनि पेट्रोल पम्पमा कम्पाउन्ड समेत छैन । पम्पमा तीनवटा बाल्टिनमा बालुवा र गिट्टी राखिएको छ । एक थान सानो अग्नि नियन्त्रक यन्त्र भए पनि आकस्मिक पूर्वाधार भने छैनन् । पेट्रोल पम्पको सम्पूर्ण मापदण्ड पूरा गरेर नै पम्प सञ्चालन गरेकोे मायाराम भोलाराम आयल स्टोरका सञ्चालक सुदीप कार्कीले बताए । ‘राजधानीका प्रायः सबै पम्प सडकसँगै जोडिएका छन्, सडकमै गएर नोजल बोकेर पेट्रोल डिजल भर्छन्,’ उनले भने ।

पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ कागजमै सीमित

एक पेट्रोल पम्पबाट अर्को पम्पको दूरी कम्तीमा ३ सय मिटरको हुनुपर्ने विनियमावलीमा उल्लेख छ । तर राजधानीमा सञ्चालित पम्पहरुमा यो नियम लागू भएको छैन । उदाहरणका लागि त्रिपुरेश्वर चोकस्थित मायाराम भोलाराम आयल स्टोर र जयन्ती आयल स्टोर १ सय मिटरभन्दा कम दूरीमा सञ्चालित छन् ।

उपत्यकाभित्र सञ्चालित पम्पहरुको बिक्री स्थलमा पक्की भवन, बिक्री स्थलको तीनैतर्फ १ दशमलव २० मिटर अग्लो पर्खाल लगाउनुपर्ने र पर्खालमाथि शून्य दशमलव ९० मिटर अग्लो चेनलिङ्क फेन्सिङ गरेको हुनुपर्छ तर उपत्यकामा सञ्चालित एकाध पम्पबाहेक अन्य पम्पहरुले यो नियमको धज्जी उडाएका छन् ।

यस्तै बिक्री स्थलमा राखिएको सबै उपकरणमा दुर्घटना हुन नदिन अर्थिङ गर्नुपर्छ । अर्थिङका लागि आवश्यकता अनुसार अर्थपिट बनाउनुपर्ने हुन्छ । पेट्रोल बिक्रीवितरण गर्ने हाताभित्र अपाङ्गमैत्री, महिला तथा पुरुषका लागि एक एक शौचालय हुनपर्ने मापदण्ड छ । त्योबाहेक दुईवटा युरिनलसहितको बत्ती र पानीको व्यवस्था भएको पक्की शौचालय निर्माण गर्नुपर्ने मापदण्ड भए पनि राजधानीका पम्पहरुमा यस्ता शौचालयको व्यवस्था गरिएको छैन ।

विनियमावलीमा उल्लेख भएअनुसार अग्नि सुरक्षाका लागि बिक्रीस्थल क्षेत्रभित्र अग्नि सुरक्षार्थ अग्नि प्रतिकारका रूपमा ५० देखि ७० किलो बोक्न सक्ने क्षमता भएको अग्नि सुरक्षाका लागि तयारी अवस्थामा एक थान ट्रली हुनुपर्छ । कतिपय पम्पहरुमा आगलागी भएमा तत्काल नियन्त्रणमा लिनका लागि फायर इक्सटिङ्ग्युसर राखे पनि ती सबैले काम भने गर्न सक्दैनन् ।

काठ, पेट्रोल र विद्युतबाट आगलागी हुन नदिन ६ थान अग्नि सुरक्षार्थ (फायर इक्सटिङ्ग्युसर) १ हजार लिटर क्षमताको पानीट्याङ्की, १० लिटरको बाल्टिनमा भरेको बालुवा १ थानका साथै तयारी अवस्थामा ४ थान बाल्टिन, खन्ने कोदालो २ थान, साबेल २ थान तयारी अवस्थामा राखेको हुनुपर्छ । तर उपत्यकामा रहेका एकाध पम्पहरुमा बाहेक अन्य पम्पहरुमा यस्तो देख्न मुस्किल छ ।

कति छन् त नेपालभर पेट्रोल पम्प ?
नेपालभर १ हजार ५ सय ४३ पेट्रोल पम्प सञ्चालनमा रहेको नेपाल आयल निगमले जनाएको छ । देशभर ३० वटा नमुना पेट्रोल पम्पका लागि निगमले अनुमति दिएका मध्ये धादिङ नौबिसेमा आकाश भैरव पेट्रोल पम्प, सिन्धुली भिमादमा निहा आयल स्टोर्स, रिपुमर्दिनी पेट्रोल स्टेसन तनहुँ, साझा पेट्रोल पम्प चितवन, मोदीगङ्गा आयल स्टोर कास्की, श्री सगरमाथा आयल स्टोर सिरहा, महाबोधी पेट्रोलियम सप्लायर्स र ओमश्री आयल स्टोर सप्तरी गरी ८ वटा नमुना पम्प सञ्चालनमा छन् । अन्य २२ वटा नमुना पेट्रोल पम्प केही समयपछि सञ्चालन हुने तयारीमा रहेको निगमले जनाएको छ ।

पेट्रोल पम्पमा सुरक्षा सतर्कताको अभाव

पेट्रोलियम पदार्थ कारोवार गर्दा आइपर्ने समस्याका बारेमा नेपाल आयल निगम लिमिटेडको पनि सुरक्षा सतर्कतासम्बन्धी योजना छैन । बस्तीको बीचमा सञ्चालित पम्पहरुले जुनबेला पनि विपद् निम्त्याउन सक्ने हुँदा पम्प सञ्चालन गर्दा सजक हुनुपर्ने नेपाल आयल निगमका प्रबन्धक जगदीशचन्द्र यादव बताउँछन् ।

‘नियमअनुसार सञ्चालन नगरिएका पेट्रोल पम्पहरुमा पेट्रोल भण्डार गर्दा, सवारी साधनमा पेट्रोल भर्दा, दुर्घटना हुन सक्छ । बस्तीको बीचमा पम्पहरु छन्, त्यसैले पम्प वरपरका घरहरु जोखिममा पर्न सक्छ’ उनले भने ।
धेरै मात्रामा पेट्रोलियम पदार्थ भण्डारण गरिएको समयमा दुर्घटना भयो भने आगोलाई नियन्त्रणमा लिन नसकिने उनले बताए । ‘पम्पमा आगलागी भएको ५ सेकेन्डमा अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिनसके आगोले खासै क्षति गर्न सक्दैन तर ५ सेकेन्डभन्दा पछि अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिन असम्भव प्रायः नै हुन्छ’, यादवले रातोपाटीलाई बताए ।

उपत्यकाको घनाबस्तीको बीचबीचमा सञ्चालन गरिएको पम्पहरुमा कुनबेला कस्तो खालको दुर्घटना हुन्छ भनेर आकलन गर्न नसकिने उनले बताए । नेपाल आयल निगमले प्रत्येक पम्पका दुई जना कर्मचारीलाई एक दिने ‘फायर फाइटिङ’ ट्रेनिङसमेत दिने गरेको छ । यो तालिममा फायर इक्सटिङिग्युसर कसरी प्रयोग गर्ने र सुरक्षा उपाय के के हुन् भनेर सिकाइन्छ ।

अधिकांश कर्मचारीलाई इक्सटिङ्ग्युसर प्रयोगबारे जानकारी नै छैन

एउटा पेट्रोल पम्पका काम गर्नका लागि कम्तीमा पनि ४ जना कर्मचारी चाहिन्छ । तर दुई जना कर्मचारीलाई मात्रै तालिमको व्यवस्था गरिएको छ । जसका कारण ती दुई जना कर्मचारी बिदामा बसेको समय वा जागिर छाडेको अवस्थामा अन्य व्यक्तिलाई यसको प्रयोगबारे जानकारीसम्म हुँदैन । जसका कारण पेट्रोल पम्पहरुमा फायर इक्सटिङ्ग्युसर भएर पनि प्रयोगबारे जानकारी नहुँदा यसका खतरा घट्न सकेको छैन ।

मिति गुज्रिएका इक्सटिङ्ग्युसर प्रयोगमै !

फायर इक्सटिङ्ग्युसरमा नाइट्रोजन ग्यास भरिएको हुन्छ, जसले आगो निभाउनमा मद्दत गर्छ । फायर इक्सटिङ्ग्युसरमा भरिएको ग्यासको मिति गुज्रने समय (एक्स्पायर डेट) एक वर्षको मात्रै हुन्छ । तर हेर्नुहोस्, त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरमा राखिएको यो इक्सटिङ्ग्युसर । २०१५ मा भरेर २०१६ मै मिति गुज्रिए पनि हामी बिहीबार (अगस्ट १, २०१९) मा यस पम्पमा पुग्दा अझै पनि यही ग्यास राखिएको छ, जसको मिति ३ वर्ष पहिले नै सकिएको थियो ।

जयन्ती जस्तै अन्य धेरै पेट्रोल पम्पहरुको अवस्था यस्तै नै हो । अधिकांश पम्पमा फायर इक्सटिङ्ग्युसर चलाउन जान्ने दक्ष व्यक्ति छैनन् भने फायर इक्सटिङ्ग्युसर भए पनि कतिपय स्थानमा मिति गुज्रिएका राखिएका छन् । यस्तो अवस्थामा पेट्रोल पम्प सञ्चालनले जोखिम मात्रै निम्त्याएको छ ।

पम्पमा आगलागी भए के हुन्छ ?
उपत्यकामा अधिकांश पेट्रोल पम्प मापदण्ड विपरीत सञ्चालित छन् । अधिकांश पम्प बस्तीका बीचमा नै छ । यदि पम्पमा भरी तेल भएको अवस्थामा आगलागी भएमा त्यसले ठूलो भौतिक तथा मानवीय क्षति निम्त्याउन सक्छ । आगलागी भइहाले नियन्त्रणमा लिनै नसकिने अवस्था पनि आउँछ र यसले सयौँको ज्यान लिन पनि सक्छ ।

हेरौँ भारतको एक पेट्रोल पम्पमा भएको आगलागीको एक दृश्य ।

त्यसो त निगमसँग अग्नि सुरक्षार्थ ‘फायर फाइटिङ’ दमकलसमेत नभएको निगमका प्रबन्धक यादवले बताए । यादवका अनुसार निमगले ६ वटा दमकल ल्याउने तयारी गरेको छ । तर त्यो दमकल उपत्यका आइपुग्न पनि करिब ४ महिना लाग्ने प्रबन्धक यादवले रातोपाटीलाई बताए ।

धेरै पम्पले जोखिमपूर्र्ण अवस्थामै पेट्रोलियम पदार्थको कारोबार गरिरहेको प्रबन्धक यादवले बताए । प्रबन्धक यादवका अनुसार पहिला नै सञ्चालनमा आएका पम्पहरु मापदण्डमा आधारित थिए । तर सडक फराकिलो बनाएपछि भने सडक र पम्पको दूरी नजिक हुन पुग्यो र अहिले पम्पहरु बाध्यात्मक अवस्थामा सडकसँगै सञ्चालन भएका छन् ।

विनियमावली लागू भएको एक वर्ष बितिसक्दा पनि पम्पहरु मापदण्डमा आधारित भएर सञ्चालनमा आएका छैनन् । पहिले मानव बस्ती नभएको ठाउँमा पम्प सञ्चालनमा ल्याइए पनि हाल मानव बस्ती बढेसँगै जोखिम पनि बढेको हो । पहिला पहिला बस्ती नभएको एकान्त स्थानमा पम्प सञ्चालन भएका भए पनि हाल पम्प वरिपरि घनाबस्तीले भरिँदा जोखिम बढेको निगमका प्रबन्धक यादवले बताए ।

काठमाडौँ महानगरपालिका अन्तर्गत रहेको विपद् व्यवस्थापन विभागकी प्रमुख अर्चना श्रेष्ठका अनुसार पम्पहरुमा ठूलो आगलागी भएमा महानगरसँग आग्नि नियन्त्रण गर्ने पर्याप्त साधन छैन । ‘महानगरमा जम्मा तीनवटा दमकल छ,’ श्रेष्ठले भनिन्, ‘पर्याप्त तालिम प्राप्त अग्नि नियन्त्रक (फायर म्यान) नहँुदा पनि समस्या छ ।’

पेट्रोल पम्प तथा अन्य स्थानहरुमा ठूलो आगलागी भएमा महानगरसँग अग्नि नियन्त्रणका लागि न योजना छ न अग्नि नियन्त्रणका पर्याप्त साधन नै । महानगरले तीनवटा दमकल ल्याउने योजना बनाएको प्रमुख श्रेष्ठले बताइन् । उनले भनिन्, ‘काठमाडौँका विभिन्न ५ स्थानमा दमकल राख्ने योजना छ, आगलागीका घटना हुँदा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र महानगर समन्वय गरेर काम गर्छौँ ।’ महानगरमा जम्मा ३३ जना तालिम प्राप्त अग्नि नियन्त्रक ‘फायर म्यान’ छन् । उपत्यकामा मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्पले भविष्यमा आउन सक्ने भवितव्यका बारेमा ललितपुर, काठमाडौँ र भक्तपुरमा अग्नि नियन्त्रण सामग्री त परैको कुरा भयो, कुनै ठोस योजनासमेत छैन ।

हामी बमको हल्लाले मात्रै डराउने गर्छौँ । बममाथिको त्रास हाम्रो दिमागमा रहे पनि पेट्रोल पम्पको खतराबारे भने खासै जानकारी राख्दैनौँ । यदि घनाबस्तीको बीचमा पेट्रोल पम्पमा आगलागी भएको खण्डमा यो बमभन्दा ज्यादै शक्तिशाली र खतरनाक हुन सक्छ । यदि बस्ती र मुख्य चोककै बीचमा आगलागी भएको खण्डमा त्यसले एकैपटक सयौँको ज्यानसमेत लिन सक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु