लोकसेवाको विज्ञापन गलत : पूर्वसभामुख घर्ती

9 Shares

काठमाडौँ । पूर्वसभामुख एवं प्रतिनिधिसभा सांसद ओनसरी घर्तीले लोकसेवा आयोग र स्थानीय तहले कर्मचारीको असमावेशी विज्ञापन निकाल्ने र नियुक्ती गर्ने कार्य गलत भएको बताएकी छिन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा समावेशीको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरेपछि उनले स्थानीय तहले पनि समावेशी प्रकृया मिचेर कर्मचारी भर्ना गर्ने कार्य गलत भएको दाबी गरिन् ।

‘संविधान अनुसार कर्मचारीको असमावेशी र असमानुपातिक विज्ञापन र नियुक्ती प्रकृया उपयुक्त कार्य होईन,’ उनले भनिन्, ‘त्यो कार्यले विभेद र उत्पीडनमा परेका आदिवासी जनजाति, महिला, दलित लगायतलाई घाटा लागेको छ ।’

समावेशी र समानुपातिक कार्यान्वयनको पक्षमा आफू सदैव लडिरहने भन्दै उनले त्यसले नै देश विकास र एकताबद्ध हुने दाबी गरिन् ।

‘सभामुख भएको मान्छे जातिय कुरा गर्नुहुन्छ, महिलाको कार्यक्रममा जानुहुन्छ भनेर गुनासो पनि सुन्छु,’ उनले भनिन्, ‘म जुन क्षेत्रबाट आएको हुँ, त्यस क्षेत्रको दुःख, पीडा, अधिकारबारे मैले चासो दिनैपर्छ ।’

प्रेस स्वतन्त्रताको नाममा विकृती बढीरहेको भन्दै उनले मिडिया र पत्रकार थप जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिईन् ।

‘कहिले देश भुल्ने, कहिले जनता भुल्ने विकृतिहरु पनि भईरहेको छ,’ उनले भनिन्, ‘देश र जनताप्रति मिडिया सधैं जिम्मेवार र संवेदनशील हुनुपर्छ ।’

भ्यू, लाईक, शेयर र चर्चा भन्दा पनि सत्य, तथ्य र निष्पक्षमा मिडियाले बढी जोड दिनुपर्ने उनको भनाई थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु