केरा खाने जो कोहीका लागि होस् उड्ने खबर

330 Shares

काठमाडौ । केरा खाने जो कोहीका लागि होस् उड्ने खबर आएको छ । केरा पकाउन अत्यन्तै घातक रसायन हाल्ने गरेको खुल्न आएको खबरले सबैलाई सोच्न बाध्य बनाएको छ । बुटवलको कृषि थोक बजार केन्द्रमा केरा पकाउनका लागि शवलाई सड्न नदिने रसायन प्रयोग गरेको भेटिएको हो । काँचो केरालाई पकाउनका लागि व्यवसायीहरुले क्याल्सियम कार्बोडेट नामको विषादी केरामा राखेको भेटिएको हो ।

प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनुगमन गर्दा बजारमा रहेको शिव भोले फ्रुटमा क्याल्सियम कार्बोडेट र ईथोपेन विषादी भेटिएको मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले जानाकारी दिए । उक्त पसलमा भेटिएको विषादी थप परिक्षणका लागि शिलबन्दी गरिएको छ ।
अनुगमन टोलीले १२ वटा पसल अनुगमन गरेकोमा ६ वटा पसललाई सुधारका लागि सचेत गराएको छ । २ वटा पसललाई सामान खरिद बिक्री नगर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा वाणिज्य कार्यालयमा दर्ता नभएको, नवीकरण नभएको तथा खरिद विल नै नभएको भन्दै ६ वटा पसललाई कागजातसहित कार्यालयमा बोलाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवा कार्यालयका प्रमुख रुद्रप्रसाद ज्ञवालीले जानकारी दिए ।टोलीले देवेन्द्र रावल आलु भण्डार, भान्जा फ्रुट भेजिटेवल एण्ड सप्लायर्स, आशीष फ्रुट सेन्टर, महम्मद अनिस सब्जी सेन्टर, नसिम अहमद, पाल्पा भैरव तरकारी तथा फलफूल सेन्टर लगायतका पसलमा अनुगमन गरेको थियो ।

थोक बजार सञ्चालक समितिकै पसल बिना दर्ता सञ्चालन
कृषि थोक बजारका अध्यक्ष कलाधर पन्थीको आशीष फ्रुट सेन्टर नै बिना दर्ता सञ्चालनमा भएको पाइएको छ । मन्त्रालयले गरेको अनुगमनका क्रममा अध्यक्ष पन्थीको पसल वाणिज्य कार्यालयमा दर्ता नभई सञ्चालन भएको पाइएको हो । यस्तै खरिद बिल नभएको र स्टोरमा सामानको मात्राबारे पनि सञ्चालक अनभित्र रहेको भन्दै वाणिज्य कार्यालयले सबै प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ ।

‘कानुनी दायरामा ल्याउँछौं’
प्रदेश ५ कि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले अनुगमन गर्दा सामान्य मापदण्ड पनि व्यापारीहरुले पालना नगरेको भन्दै व्यवसायीहरुलाई प्रशिक्षण दिइने बताईन् । कर छली गरेर कुनै पनि व्यवसायीले उम्कन नपाउने भन्दै कृषक, व्यवसायी संघ संस्थाहरुलाई व्यवसायीक प्रशिक्षण आवश्यक रहेको उनको भनाइ छ ।

‘अनुगमन गर्दा कहाँ दर्ता गर्ने, दर्तापछि नवीकरण कहिले गर्ने भन्ने पनि व्यवसायीमा ज्ञान नभएको देखियो,’ उनले भनिन्, ‘यो त लज्जाको विषय हो, यसको सुधार मन्त्रालयले गर्नेछ ।’मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको अध्यक्षतामा गएको बजार अनुगमन टोलीमा मन्त्री आरती गौतम, सांसद चेतनारायण आचार्य, कलम श्रेष्ठ, वाणिज्य कार्यालयका प्रमुख रुद्रप्रसाद ज्ञवाली, नासु प्राविधिक विजय अर्याललगायत थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु