आफ्नै वंश विनास गर्ने पूर्वराजाले प्रजाको रक्षा गर्लान् ?

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। वि.सं. २०५८ जेठ १९ गतेका दिन राजपरिवारका १० सदस्यको हत्या भयो, जसलाई दरवार हत्याकाण्डका नामले चिनिन्छ। नेपाली जनताले आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा सुने। युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी मारेको हल्ला गरियो।

गोली हानिसकेपछि युवराज दीपेन्द्रले आफैमाथि गोली प्रहार गरेको बताइयो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो। युवराज दीपेन्द्रको पनि जेठ १९ गते नै हत्या भइसकेको थियो। तर, उनलाई हठात् राजा घोषणा गरेर हत्याको दोष उनकै थाप्लोमा थोपर्ने कोशिस गरियो। उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो। राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरियो।

ज्ञानेन्द्रको षड्यन्त्रपूर्ण हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराजधिराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, अधिराजकुमार धीरेन्द्र (तत्कालीन अवस्थामा अधिराज कुमारको पद खोसिएका), अधिराजकुमारी शान्ति राज्य लक्ष्मी (राजा वीरेन्द्रकी बहिनी), अधिराजकुमारी शारदा राज्य लक्ष्मी (राजा वीरेन्द्रकी बहिनी), कुमार खड्गविक्रम शाह (राजा वीरेन्द्रका ज्वाइ्ँ, शारदाका पति), अधिराजकुमारी जयन्ती (राजा वीरेन्द्रकी बहिनी, काकाकी छोरी) मारिएका थिए।

त्यसैगरि अधिराजकुमारी शोभा (राजा वीरेन्द्रकी बहिनी), कुमार गोरख शमशेर (अधिराजकुमारी श्रुतिका पति), अधिराजकुमारी कोमल (पछि बडामहारानी), श्रीमती केतकी चेस्टर (राजा वीरेन्द्रकी बहिनी तथा काकाकी छोरी, राजपद छोडेकी) घाइते भएका थिए। त्यसबाहेक शाही नेपाली सेनाका कति अधिकृत र जवानहरु मारिए, त्यसको भने कुनै लेखाजोखा नै छैन।

युवराज दीपेन्द्र आफैंले परिवारका त्यत्रा सदस्यको हत्या गर्नसक्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो। ज्ञानेन्द्रले सम्पूर्ण परिवारको हत्यापछि त्यसको दोष दीपेन्द्रमा थुपार्न खोजेको आम नागरिकको बुझाई थियो। छानविन आयोग स्वयं ज्ञानेन्द्रले नै बनाएका थिए। उनका विरुद्ध प्रतिवेदन दिएर मारिन केशवप्रसाद उपाध्याय र तारानाथ रानाभाट तयार थिएनन्, त्यसमाथि उनीहरु दुवै ज्ञानेन्द्रका परम् भक्त थिए। राजा वीरेन्द्रको उदार नीति विदेशी शक्तिलाई मन नपर्नु र ज्ञानेन्द्रमा जसरी भए पनि राजा हुने चाहना व्यक्त हुनुको संयोगमा नै दरबार हत्याकाण्ड घटाइएको थियो।

परिस्थिति खराबबाट अझ खराब हुँदै गइरहेको थियो। नेपाली जनताले राजनीतिक दलहरू र तिनका नेताहरूप्रतिको विश्वास गुमाउँदै गइरहेका थिए। नेपाली जनतामध्ये केहीलाई त पूरा बहुदलीय व्यवस्थाप्रति नै मोहभंग भएको महशुस भइसकेको थियो। माओवादी जनयुद्ध एकपछि अर्को तीव्रतामा थियो। नेपाली जनता राजनीतिज्ञहरू र सरकारलाई विश्वास गर्न सकिरहेका थिएनन्। विदेशी शक्ति र ज्ञानेन्द्रले पनि यो परिस्थितिलाई नजिकबाट नियालिरहेका थिए।

२५० वर्षे राजतन्त्रको इतिहासमा राजा वीरेन्द्रलाई तुलनात्मक रुपमा उदारवादी राजा मानिन्थ्यो। माओवादी जनयुद्धको समाधान के ? यसबारे दरबारमा दुईथरि मत थिए, एकथरि शक्ति नेपाली सेना र विदेशी शक्ति ल्याएर भए पनि विद्रोहलाई दवाउनुपर्ने मान्यता राख्दथे। त्यसमा पूर्वराजा ज्ञानेन्द्र नै प्रमूख पात्रका रुपमा थिए। इतिहासमा भीमदत्त पन्त लगायतका क्रान्तिकारीहरुलाई विदेशी सेना ल्याएरै मारिएको थियो। तर, वीरेन्द्रचाहिँ सम्वादकै माध्यमबाट राजनीतिक समस्याको समाधान चाहन्थे। त्यसका लागि उनले विद्रोही माओवादीसँग अनौपचारिक सम्वादको प्रक्रियासमेत अघि बढाएका थिए।

वीरेन्द्र नेपालका राजाहरुमध्ये जनताबीच सबैभन्दा बढी लोकप्रिय थिए। उनी हिंसा र सर्वसत्तावादको पक्षमा थिएनन्। उनी राजा नियन्त्रित प्रजातन्त्रको कुरा गर्दथे। राजा वीरेन्द्रको उदार राजनीतिक सोंचका कारण नै २०४६ चैत्र २६ गते राजा, कांग्रेस र वाम शक्तिबीच त्रीपक्षीय सम्झौता सम्भव भएको थियो। उनी माओवादीमाथि सेना परिचालन गरेर देशमा गृहयुद्ध थोपर्न चाहँदैनथे। ज्ञानेन्द्र शाहका लागि यो नै यस्तो उचित मौका थियो, दरबार हत्याकाण्ड गरेरै भए पनि सत्ताको चाँबी आफ्नो हातमा लिन उनी सफल भए।

जेठ २२ गतेका दिन राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरियो र ज्ञानेन्द्र नयाँ राजा घोषित भए। नयाँ राजा ज्ञानेन्द्रले सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिए। एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्‍यो र त्यसलाई सार्वजनिक पनि गरियो। प्रतिवेदनमा लागूपदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निष्कर्ष निकालिएको थियो। ज्ञानेन्द्रकै योजनामा प्रतिवेदन जारी गर्नुपर्ने पूर्वशर्त आएपछि तात्कालीन नेकपा एमालेका महासचिव माधव कुमार नेपालले छानविन समितिमा बस्न अस्वीकार गरेका थिए।

नयाँ राजाले पारम्परिक तर गम्भीर उदास वातावरणयुक्त समारोहमा दोस्रो पटक राजगद्दी आरोहण गरे। एक शताब्दीसम्म नेपालमा शासन गरेको राणाशासनलाई उखेल्न भएको आन्दोलनको अन्तिम चरणका रूपमा बाजे त्रिभुवनले भारतमा शरण लिँदा सानै रहेका उनी त्यस्तै किसिमको समारोहपछि राजगद्दीमा बसेका थिए। २०५८ जेठ २२ गते ज्ञानेन्द्रले दोस्रोपटक सत्तारोहण गरेका थिए।

राजा ज्ञानेन्द्रले सुरूदेखि नै आफू दिवंगत राजा वीरेन्द्रभन्दा फरक रहेको स्पष्ट पार्दै नेपाली जनताको दुःखलाई चुपचाप टुलुटुलु हेरेर नबस्ने सार्वजनिक रूपमा बताउँदै आएका थिए। यो राजा राजनीतिक रूपमा सक्रिय हुने संकेत थियो। त्यसैअनुसार उनी दल र नागरिकप्रति निकै क्रुर रुपमा प्रस्तुत भए। उनले दलहरुमाथि प्रतिबन्ध मात्र लगाएनन्, बोल्ने, लेख्ने, हिड्ने, सभा सम्मेलन गर्ने नागरिक स्वतन्त्रता पनि अपहरण गरे। देशमा संकटकाल लागू गरे।

देश गृहयुद्धमा होमियो। माओवादी नेताहरुको टाउकाको मूल्य तोकियो। देशमा १७ हजार नागरिकको ज्यान गयो, त्यसमध्ये १४ हजार नागरिक शाही सरकार र ३ हजार नागरिक विद्रोहीका तर्फबाट मारिएका थिए। तर, ज्ञानेन्द्रको क्रुर दमनले राजनीतिक चेतना दमित भएन। माओवादी र संसदवादी दलहरु एक ठाउँमा आउने वातावरण बन्यो। २०६२ मंसीर ७ गते दलहरुबीच १२ बुंदे समझदारी भयो, दोस्रो जनआन्दोलन भयो र दलहरु पुनः सत्ताको नेतृत्वमा आए।

२०६५ जेठ १५ गतेको संविधानसभा बैठकले राजतन्त्रलाई सदाका लागि बिदा गर्‍यो। ज्ञानेन्द्रले पत्रकार सम्मेलनमार्फत् गद्दी त्यागको घोषणा गरे। त्यसपछि उनलाई निर्मल निवास पठाइयो। तर, त्यति भयानक हत्याकाण्ड घटाउने ज्ञानेन्द्रमाथि दलहरुले थप कार्वाही गर्न चाहेनन्, त्यसको प्रत्यक्ष फाइदा उठाउँदै पूर्वराजाले बेलाबखत राजतन्त्र पूनर्स्थापनाका लागि देशी विदेशी शक्तिसँग संसर्ग गर्दै आएका छन्। पछिल्लोपटक भारतको लोकसभा निर्वाचनपछि पूर्वराजा ज्ञानेन्द्रले आफ्नो सक्रियता बढाउन थालेका छन्।

राजनीतिक दलहरुले सुशासनको प्रत्याभूत गर्न नसक्दा, बेथिति र भ्रष्टाचार बढ्दै जाँदा नागरिकमा निराशा बढ्न थालेको छ। विदेशी शक्तिको साथ, प्रतिपक्षीको मौनता, विद्रोही शक्तिको उपयोगको मनस्थिति र जनताको निराशाको लाभ उठाउन पूर्वराजाले प्रयत्न गर्न थालेका छन्। तर, आफ्ना दाजु–भाइजु र परिवार नै सखाप पार्ने पूर्वराजा ज्ञानेन्द्रले देश र जनताको चिन्ता लेलान् ? दरबार हत्याकाण्डको १८ वर्ष नपुग्दै नागरिकले त्यत्रो नरसंहार भुल्न सक्लान् ? नागरिक दलहरुप्रति जतिसुकै आक्रमक देखिए पनि गणतन्त्रको बिकल्प तानाशाही व्यवस्था हुन सक्दैन। २१ औं शताब्दीमा सामन्ती तानाशाही व्यवस्था विश्वमै समाप्त भइसकेको बेला नेपालमा राजतन्त्रको पूनर्स्थापना केवल कल्पना मात्र हुन सक्छ।

Comments

comments

सम्बन्धित शीर्षकहरु