काठमाडौं । नेकपाका वैचारिक नेता घनश्याम भुसालले देश दलाल पुँजीपतिको हातमा रहेका कारण कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि कमाउधन्दामा लागेको बताएका छन् । १० वर्षमा मन्त्री अर्बपति र पीए करोडपति हुने गरेको उनको भनाइ छ ।
‘देश दलाल पुँजीपतिको हातमा छ । सबैलाई पुँजी चाहिएको छ, । देशको समृद्धि होइन, व्यक्तिको समृद्धि चाहिएको छ’, उनले भने ‘समृद्ध बन्न मन्त्रीहरुले १० वर्षमा अर्ब, पीएले करोड कमाउने गरेका छन् ।’
पार्टी र नेतृत्व दलाल पुँजीवादको चंगुलमा फेसेको उनले बताए । दलाल पुँजीवादकै कारण समाजवादमा पुग्न कठिन भएको उनले सुनाए । नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको ‘संघर्षको इतिहास’ पुस्तक समीक्षा गर्दै भुसालले देशको सबै क्षेत्रमा दलाल पुँजीपति हावी भएको बताए । कमाउधन्दाका कारण इमानदार कार्यकर्ताको मनोबल खस्किँदै गएको उनले बताए ।
ठेकेदारबाट एक करोड २२ लाख जरिवाना असुली
तोकिएको समयमा काम सम्पन्न नगरेका मध्यपहाडी लोकमार्ग आयोजनाका ठेकेदारबाट रु एक करोड २२ लाख जरिवाना असुली गरिएको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमले निर्धारित समयमा काम सम्पन्न नगरेको भन्दै लोकमार्गको विभिन्न खण्डको ठेक्का लिएका पाँच निर्माण कम्पनीबाट उक्त रकम असुली गरेको हो ।
आयोजना प्रमुख अभिमनदास मुल्मीका अनुसार सम्झौतामा तोकिएको समयमा सडक र पुल निर्माण सम्पन्न नगरेका निर्माण कम्पनी कारवाहीमा परेका हुन् । कारवाहीमा पर्नेमा तेह्रथुमको खोरुङ्गा खोलामा पुल निर्माणको जिम्मा लिएको कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सन, इलाइट कन्स्ट्रक्सन, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सन, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन र एरिमा कन्स्ट्रक्सन रहेका छन् । कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सनबाट रु ५९ लाख ६९ हजार, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनबाट रु ५४ लाख ५३ हजार, इलाइट कन्स्ट्रक्सनबाट रु सात लाख ७३ हजार, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सनबाट रु एक लाख ७५ हजार तथा एरिमा कन्स्ट्रक्सनबाट रु एक लाख १९ हजार असुली गरिएको मुल्मीले जानकारी दिनुभयो ।
पाँचथरको याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङबाट शुरु भई सुदूरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट जोड्ने उक्त सडकको कूल लम्बाइ एक हजार ७७६ किलोमिटर रहेको आयोजनाले जनाएको छ । आयोजनाको पूर्वीखण्ड कार्यालयले पाँचथरदेखि भोजपुरसम्मको ३८६ किलोमिटर सडकको काम हेर्दैआएको छ । सो खण्डमा १८२ किलोमिटर सडक कालोपत्रे भइसकेको मुल्मीले जानकारी दिनुभयो ।