मन्त्रीकाे निर्देशनपछि काठमाडाैंमा नियमित खानेपानी वितरण

काठमाडौं। खानेपानी मन्त्री बीना मगरकाे निर्देशन पछि काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा ५–६ दिन बिराएर वितरण हुने पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । बाग्मतीमा पानीको बहाव बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बन्दै गएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले महांकाल, महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा जम्मा भएको पानी २ दिन बिराएर वितरण गर्न थालेको हो ।

मन्त्री मगरको निर्देशनमा केयुकेएलले काठमाडौंका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको हाे । वर्षातको समयमा बाग्मतीमा पानीको बहाव बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको केयुकेएलका कम्पनी सचिव मिलन शाक्यले जानकारी दिए। पुरानै वितरण लाइनबाट पानीको आपूर्ति भइरहेको कम्पनी सचिव शाक्यले बताए । पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले नजिकका केयुकेएलका शाखा कार्यालयहरुमा खबर गर्न समेत केयुकेएलले सबैलाई आग्रह गरेको छ ।

‘यसपालीको वर्षात्मा बाग्मतीमा पानी बढेकाले उक्त पानीलाई प्रशोधन गरी वितरण गरिएको हो ।’ कम्पनी सचिव शाक्यले भने, ‘५–६ दिन बिराएर वितरण गर्दै आइरहेको पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । वर्षातका कारण काठमाडौंका मुख्य ठाउँहरुमा अहिले पानीको समस्या कम हुँदै जान थालेको र प्रत्येकको घरमा पानीको आपूर्ति सहज भइरहेको छ ।’

केयुकेएलका अनुसार महांकालचौरस्थित पानी ट्यांकीमा दैनिक डेढ करोड लिटर पानी थपिँदै गएको छ । महांकालचौर शाखाको पानी अहिले चाबहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आइरहेको छ । शाखा प्रमूख उमेश मरहट्टाले महांकालचौरबाट ९० हजार धाराहरुमा पानी वितरण हुँदै आएको जानकारी दिए।

त्यसैगरी महाराजगञ्जस्थित पानी ट्यांकीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको शाखा प्रमूख रमेश केसीले जानकारी दिए । महाराजगञ्ज शाखाबाट चक्रपथ महाराजगञ्ज, लाजिम्पाट, गैरीधारा, कपुरधारा, रानीबारी, सामाखुसी र असनमा पानी हुने गर्दछ । यस क्षेत्रका ८ हजार धारामा पानी वितरण गरिंदै आएको शाखा प्रमुख केसीले बताए।

केयुकेएलका अनुसार नयाँ बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ । मीनभवन शाखाबाट नयाँ बानेश्वर, तीनकुने, शंखमुल बुद्धनगर, थापागाउँ र मध्य बानेश्वर क्षेत्रमा पानी वितरण हुँदै आइरहेको छ । यस क्षेत्रमा करिब १० हजार धारामा पानी आइरहेको शाखा प्रमूख नारायण कर्णले जानकारी दिए।

यो पनि:

यो पनि पद्नुहोस:

संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना व्यक्त
काठमाडौं– नेपालको संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा शुभकामना व्यक्त गरेका छन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति स्वयम् र भारत तथा त्यहाँका जनताका तर्फबाट संविधान दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

सन्देशमा राष्ट्रपति कोविन्दले नेपाल र भारत साझा भूगोलले मात्र नभई इतिहास, सभ्यता, संस्कृति र जनता जनताबीचको सम्पर्कले जोडिएका बताएका छन् ।

भारत र नेपालबीचको साझेदारी विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा नेपालको समृद्धि र विकासका लागि अविच्छिन्न सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालको भ्रमण गर्न आफूलाई राष्ट्रपति भण्डारीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै उनले दुई देशीबीच उच्चस्तरमा आदानप्रदान हुने भ्रमणले एकअर्काप्रति हाम्रो साझेदारीका प्राथमिकता प्रतिबिम्बित हुने बताएका छन् ।

दुवै देशलाई उपयुक्त हुने समयमा नेपालको भ्रमण गर्न आफू प्रतीक्षारत रहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर समृद्धि र प्रगतिको कामना गरेका छन् ।

यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले संविधान दिवसको शुभकामना व्यक्त गर्दै अमेरिका र नेपालबीचको सात दशक पुरानो सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

स्वतन्त्र एवम सार्वभौम नेपालको विकास तथा सबै नेपाली नागरिकको समृद्धिका निम्ति अमेरिका सहयोग गर्न दृढ रहेको बताउँदै राष्ट्रपति ट्रम्पले प्राथमिकताका साझा क्षेत्रमा दुई देशबीचको साझेदारी रहने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै स्विस महासङ्घका राष्ट्रपति विली माउररले स्विस सङ्घीय परिषद् र स्विटजरल्यान्डका जनताका तर्फबाट नेपाल, नेपाली जनता र राष्ट्रपति भण्डारीसमेतको समुज्ज्वल भविष्यको कामना गरेका छन् ।

नेपालसँग सुदृढ सम्बन्ध कायम गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताउँदै सन्देशमा स्विस राष्ट्रपतिले आपसी मैत्री अझ मजबुद हुने विश्वास व्यक्त गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु