देशको रछ्यक प्रहरीको दसैं : “हामीलाई गाउँघर पनि यहीँ, परिवार पनि यहीँ”- सिएर गर्नुहोस्

कोही गाउँमा लिंगेपिङ हाल्ने योजनामा छन्, कोही घर र्फकने सुरसारमा । कोही घोर्ले खसीको जोहोमा लागेका छन्, कोही घुमफिरको योजनामा । कोही किनमेलको चटारोमा छन्, कोही दक्षिणाको व्यवस्थापनमा । भनौं, दसैंले सम्पूर्ण नेपालीको दैनिकी नै चलयामान बनाइदिएको छ । मुल घरमा इष्टमित्रसँग जमघट गर्ने, मिठो-मसिनो खाने, रमाइलोका लागि तास खेल्ने, पिङमा मच्चिने, मान्यजनकहाँ टीका थाप्ने कुराले सबैलाई उमंगित बनाएको छ ।

जबकि चार्डपर्वको यो उल्लासमा कतिपय पेशाकर्मी भने घर, परिवारसँग अलग रहेर आफ्नो ड्युटीमा खटिनुपर्ने हुन्छ । जस्तो कि, प्रहरी । चार्डपर्वको बेला प्रहरी सेवामा रहेकाहरुलाई घर र्फकने मेलोमेसो त मिल्दैन नै, ढुक्कले बस्ने अवस्था पनि रहँदैन ।

किनभने चार्डपर्वको बेला सर्वसाधरणको सुरक्षाका खातिर उनीहरु सक्रिय र चनाखो रहनुपर्छ । कतै झगडा हुन्छ, दौडिहाल्नुपर्छ । कतै चोरी-डकैती हुन्छ, दौडिहाल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा एक प्रहरी सेवामा रहेका व्यक्तिको अनुभव एवं अनुभूति कस्तो हुन्छ होला ?

प्रहरी सेवामा कार्यरत प्रहरी उपरीक्षक दानबहादुर कार्कीको अनुभव यहाँ प्रस्तुत गरिएको छ ।

प्रहरीमा दसैं

२०५६ सालको दसैंमा प्रहरीको तालिम सकिएपछि एकपटक घर गएँ । परिवारमा दसैं मनाएँ । त्यसपछिको समय घरमा दसैं मनाउने संयोग जुर्नसकेको छैन ।

प्रहरी सेवामा रहेकाहरुले दसैंका लागि भनेर बिदा पाउँदैनन् । अरु पेशा-व्यवसायीहरु दसैं विदा लिएर फुर्सदिलो दिनहरु विताइरहेका बेला प्रहरी आफ्नो कार्यक्षेत्रमा खटिनुपर्छ । यद्यपि हामी आफ्नै ड्युटीमा रहँदा पनि दसैं मनाइरहेका हुन्छौं । टीका थाप्ने, जमरा राख्ने, मिठोमसिनो खाने गर्छौं । ड्युटीमा रहेकाले आलोपालो गरेर टीका थाप्छन् ।

म अहिले जिल्ला प्रहरी कार्यलय पोखरामा कार्यरत छु । कमान्डर भएको नाताले दसैंको व्यवस्थापन मैले नै गर्नुपर्छ । घटस्थापनाको दिन यहीँ पण्डित बोलाएर पूजाआजा गरी विधीपूर्वक जमरा राख्न लगाएँ । जमरा राखेपछि प्रत्येक विहान नुहाइधुवाई पूजा गर्ने चलन हुन्छ । सबै विधी-विधान हामी नियमपूर्वक नै गर्छौं ।

विजयदशमीको दिन यहीँ टीका लगाइदिने व्यवस्था पनि गरिन्छ । काठमाडौंबाट मेरो श्रीमतीसहित दुई छोरी पनि यहीँ आएर दसैं मनाउनेछन् । ड्युटीमा रहेका इच्छुक प्रहरी कर्मचारीलाई आलोपालो गरेर आफ्नै हातले टीका लगाइदिनेछु । ।

उनीहरुलाई खाली हात टीका लगाइदिन हुन्न भनेर श्रीमतीले भनेकाले विगतदेखि नै मैले सामान्य भएपनि दक्षिणा दिने गरेको छौं । सय, पचास रुपैयाँ दक्षिणा स्वरुप दिनेगर्छौं । अरु सबै प्रहरी कर्मचारीले दर्जा अनुसार आफु मातहातका प्रहरी कर्मचारीलाई टीका लगाइदिन्छन् ।

त्यसपछि खसी मार हान्ने । समूहमा मिठो-मसिनो खाने । नाचगान गर्ने । जसलाई नाच्न आउँछ, उसलाई नाच्न लगाउने । जसलाई गाउन आउँछ, उसलाई गाउन लगाउने । उनीहरुमा भएको अतिरिक्त कला के छ, देखाउन लगाउँछौं । यसरी रमाइलो गर्दा गर्दै उनीहरुले घर-परिवार सम्झेर खिन्न हुँदैनन् ।

त्यसपछि आ-आफ्नो ड्युटीमा लाग्छन् । कहाँ जानुपर्ने, के गर्नुपर्ने ? सबै आफ्ना जिम्मेवारी निर्वाह गर्नतर्फ लाग्छन् ।

दसैंमा प्रहरीको मनोदशा

दसैंमा प्रहरीहरु घर जान पाउँदैनन् । अर्थात उनीहरुका लागि विदा मिल्दैन । त्यसो भन्दैमा हाम्रो मानविय पक्षलाई गुमाउनु भने हुन्न जस्तो लाग्छ ।

कतिपय यस्ता प्रहरी हुन्छन्, जो घर-परिवारबाट टाढा भएकोमा खिन्न र उदास हुन्छन् । कति बर्षदेखि दसैंमा परिवारसँग टीका लगाउन पाएका हुँदैनन् । घरका बुढा आमाबुवा, छोराछोरीले व्यग्रताका साथ भनिरहेका हुन्छन्, ‘कहिले घर आउने ?’

श्रीमती गाउँघरमै हुन्छन्, छोराछोरी त्यही हुन्छन् । जागिरे बुबाले खानेकुरा ल्याइदिन्छ, लुगाफाटो किनिदिन्छ, खेलौना ल्याइदिन्छ भनेर बाटो हेरिरहेका हुन्छन् । श्रीमतीले पनि श्रीमानसँगै टीका लगाउने अपेक्षा गरेका हुन्छन् । आमाबुबालाई चार्डपर्वमा आफ्नो छोरा-छोरीको मुख हेर्ने रहर हुन्छ ।

प्रहरी सेवामा आउनेहरु हुनेखाने, संभ्रान्त परिवारका हुँदैनन् । त्यसैले पनि उनीहरुमा आर्थिक दबाव हुन्छ । पारिवारिक व्यायभार उनीहरुको काँधमा हुन्छ ।यस्तो अवस्थामा कतिपय प्रहरी आफ्नो घर–परिवार सम्झेर नोस्टाल्जिक हुन्छन् । खिन्न हुन्छन् । उदास हुन्छन् ।

त्यसमाथि कति प्रहरी आफ्नो कुरा राख्न सक्दैनन् । मनको कुरा मनमै गुम्साएर राख्छन् । उनीहरुको मनोदशा हामी कमान्डरले बुझ्नुपर्छ । उनीहरुको अनुहार पढ्नुपर्छ । मन खिन्न पो छ कि ? पारिवारिक दबाव पो झेलिरहेको छ कि ? उनीहरुको मनोभाव जान्नुपर्छ । यदि उनीहरु दसैंमा घर जानैपर्ने अवस्थामा छन्, घर-परिवारले पनि दबाव दिइरहेका छन् भने आफुले सबै जिम्मेवारी लिएर भएपनि उनीहरुलाई रोक्नु हुँदैन, मलाई यस्तै लाग्छ । ‘ल घर जाने भए, जाओ । मेरो जिम्मामा तिमीलाई छाडिदिएको छु’ भनेपछि खुसी हुँदै घर जान्छन् ।

हामी कमान्डरहरु बज्र जस्तो कडा र नौनी जस्तो नरम पनि हुनसक्नुपर्छ । उनीहरुको खुसीको लागि हामीले आफ्नो खुसी पनि त्याग्न सक्नुपर्छ ।

म बानेश्वरमा कार्यरत रहँदा प्रहरीहरुलाई संक्षिप्त रुपमा कार्यथलोमै देउसी-भैली खेलाएको थिएँ । विधीपूर्वक देउसी-भैली खेलाउने, नाचगान गराउने, दक्षिणा दिने । गाउँघरमा जस्तै गरेर यसरी देउसी-भैली खेलाउँदा उनीहरु दंग परेका थिए ।

प्रहरीलाई मनोरञ्जन

प्रहरी एक संवेदनशिल पेशा हो । प्रहरीहरु आफ्नै अनुशासनमा बाँधिएका हुन्छन् । चोरी, डकैती, हत्या, हिंसा, दुव्र्यसन, बलात्कार, आत्महत्या, हुलदंगा जस्ता आपराधिक गतिविधिकै वरिपरी घुमिरहने जीवन हो, प्रहरीको । त्यसैले प्रहरीले धेरैजसो समय तनाव, दबाव, चुनौती र जोखिमबाट गुज्रिनुपर्ने हुन्छ ।

प्रहरीलाई बेलाबखत मानविय स्वरुपका मनोरञ्जन चाहिन्छ, उनीहरुले पनि उन्मुक्त रमाउने वातावरण चाहिन्छ । मैले विश्वका कतिपय प्रहरी सेवाबारे नजिकबाट बुझ्ने मौका पाएको छु । उनीहरुमा कस्ता प्रविधि र दक्षता छ ? उनीहरु कस्तो मनोबल लिएर हिँडिरहेका छन् भन्ने कुरा अध्ययन गरेको छु । त्यसको तुलनामा हाम्रो प्रहरीहरु धेरै अभाव र संकटसँग गुज्रिरहेका छन् ।

यति कठिनतासाथ आफ्नो सेवामा खटिएका प्रहरीहरुलाई बेलामौकामा साथीभाईहरुका बीच उन्मुक्त रमाउन दिनुपर्छ भन्ने लाग्छ । पछिल्लो समय मैले के अभ्यास गरेको छु भने, प्रड्युटी सकेर खाली रहेका प्रहरीको समूहलाई कुनै रेष्टुरेन्टमा लगेर सामूहिक रुपमा मिठो-मसिनो खाने व्यवस्था गरी, मानोचित मनोरञ्जन गर्ने व्यवस्था गरेका छौं । यसो गर्दा घर परिवारका सामिप्यताबाट टाढा रहेका उनीहरु पनि फ्रेस हुने मौका मिल्छ जस्तो लाग्छ ।

कर्तव्य र संस्कृतिको तालमेल

दसैं हाम्रो संस्कृति हो । दसैंको आफ्नै विशिष्ठ सामाजिक मूल्य र मान्यता छ । धार्मिक एवं सांस्कृतिक महत्व छ । दसैंलाई सबैले आफ्नो विधी र गच्छे अनुसार मनाउने गर्छन् ।

यद्यपि प्रहरी सेवाको प्रकृति फरक छ । दसैं जस्तो चार्डपर्वमा प्रहरीले अरु बढी सर्तक र चनाखो भएर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ । यसो भन्दैमा प्रहरीलाई आफ्नो संस्कृतिबाट विमुख गराउन सकिदैन । आआफ्ना नागरिक प्रतिको कर्तव्य निर्वाह गर्दै नेपाल मौलिक संस्कृतिको संरक्षण गर्ने कार्यमा सक्रियाताका साथ लाग्नुपर्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु