सागका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव, पोखरामा मात्रै ४० करोडको कारोबार बढायो

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुदले समग्र खेलकुदकर्मीसँगै नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाएको छ । नेपालसहित सात देश सहभागी रहेको र विभिन्न २७ खेलका लागि काठमाडौँ, पोखरा र जनकपुरमा हुँदा खेलकुदसँगै पर्यटन र समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो ।

देश संघीयतामा गएपश्चात पहिलोपटक आयोजना भएको खेलकुदले विकेन्द्रीकरणको सिद्धान्तलाई समेत अवलम्बन गर्दा पोखरावासी हर्षित छन् । यसले तीनै तहका सरकारले राष्ट्रिय पर्वका रुपमा यसको अपनत्व लिएका छन् ।

सागमा खेलाडी, प्रशिक्षक र व्यवस्थापक तथा रेफ्रीगरी ६ हजार ५०० सहभागी छन् । उनीहरुसँगै आएका संचारकर्मी ७ हजार प्रत्यक्ष रुपमा सहभागी भएका छन् ।

सरकारको साढे ३ अर्ब खर्च गरेको छ भने निजी क्षेत्रको पनि करोडौं लगानी गरेको छ । सागमा पोखरामा मात्रै ४० करोडको कारोबार बढाएको छ । यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

यो पनि पढ्नुस 

एक जना गुरुले ११औं दक्षिण एसियाली खेलकुद (साग)का लागि जुत्ता किनेका रहेछन्, तर प्रयोग भएन । लामो समय कुनै कुनामा थन्केर बस्यो । करिब एक वर्ष पहिले उनै गुरुले त्यो जुत्ता नेपालकी बलवान महिला तारादेवी पुनले उपहार पाइन् । र, त्यही जुत्ता लगाएर १३ औं सागको भारोत्तोलनमा काश्य जितेकी छिन् ।

तर जुत्ताको कथा भने अर्कै छ । यो जुत्ता उनले ३ पटक सिलाएर लगाएकी हुन् । ‘त्यो जुत्ता तीन पटक सिलाएँ । ग्लुले त कति चिप्काएँ, चिप्काएँ’, उनी भन्छिन्, ‘अन्तिममा त्यो जुत्ता पनि चिप्लियो । त्यही भएर पनि होला, टार्गेट पूरा गर्न सकिनँ ।’

शनिबार प्रतिस्पर्धा गर्दैगर्दा उनले लगाएको जुत्ताको सोल केही उप्किएको प्रष्टै देखिन्थ्यो । उनका लागि जुत्ता नआएको भने होइन, आएकै हो । तर ३८ नम्बरको जुत्ता लगाउने तारादेवीले पाइन् ४५ नम्बरको । भन्छिन्, ‘आएको जुत्ता पनि मिलेन । त्यसैले सोल पनि उप्किन लागिसकेको त्यही जुत्ता लगाएर प्रतिस्पर्धा गरें ।’तारादेवीले काश्यमा चित्त बुझाइन् ।

‘लक्ष्य पूरा गर्न सकिनँ’

तारादेवीको १३औं सागमा लक्ष्य थियो रजत । तर काश्य पदकमा सीमित हुन पुगिन् । ‘टार्गेट त रजत पदक थियो । खोइ, कहाँ कमजोरी गरेँ थाहा छैन,’ पुनले आत्मसमीक्षा गरिन्, ‘गुरुहरुले दिएको टार्गेट पनि पूरा गर्न सकिनँ ।’

उनको मनमा कुरा खेलिरहन्छ, अभ्यासकै क्रममा बिरामी परेकाले पो हो कि ? ‘यो लेबलको पर्फमेन्स मेरो होइन । बिरामी नभएको भए अझै राम्रो गर्न सक्थें कि ? उनी भन्छिन्, ‘हुन त लास्टको लिफ्ट मैले बिगारेकै हो, त्यो स्वीकार्नैपर्छ ।’

‘आमालाई खेल देखाउन पाएँ’

म्याग्दीको विकट गाउँमा छ पुनको घर । उनकी आमा त्यही गाउँमा बस्छिन् । र छोरीलाई भनिरहन्छिन्, ‘धेरै नखेल अब । गाउँ फर्क र बिहे गर ।’ कहिलेकाहीँ पुनलाई आमाको मायाले सताउँदा फोन गर्न खोज्दा पनि लाग्दैन ।

तर यस पटकको सागमा भने तारादेवीले आमाकै सामुन्ने पदक पहिरिइन् । आँखाको समस्या भएका कारण पोखरा आएकी आमाले छोरीको सफलता आफ्नै आँखाले देख्न पाइन् ।

‘मेरालागि यो ठूलो संयोग हो । आमाले मेरो खेल हेरेको कमै क्षण छन्,’ केही भावुक बन्दै भन्छिन्, ‘संयोग मान्नुपर्छ यो पटक आमाले मात्रै होइन, परिवारका सबैले खेल हेर्नु भयो । त्यही भएर बढी नर्भस भएर पनि खेल राम्रो गर्न सकिनँ कि ?’

कुन पोशाक लगाएर जाने ?

स्वर्ण जित्न नसकेकोमा दुःखी उनलाई शनिबार साँझबाट अर्को तनाव थपिएको छ, ‘साग पोशाक ।’पोखरा माटेपानीमा जारी भारोत्तोलनका सबै खेल आइतबार सकिँदैछन् । र आयोजकले उर्दी लगाएको छ, ‘अन्तिम दिन सबै साग खेलाडी पोशाकमा आउनू ।’

उनी दोधारमा छिन्, ‘कुन पोशाक लगाएर जाने ?’

सागका लागि उनलाई पोशाक पनि आएको छ । तर जुत्ता जस्तै साइज नमिल्ने । उनकै शब्दमा भन्ने हो भने, उनका लागि ठूलो मात्रै होइन, अत्ति ठूलो पोशाक आएको छ ।मेडल लिने बेलामा लगाएको पोशाक एक जना बहिनीको भएको खुलाउँदै उनले भनिन्, नाप्न त ३/३ चोटि नापेको हो । तर मेरो ट्रयाकसुट त घुँडाभन्दा मुनि आउँछ ।’

Comments

comments

सम्बन्धित शीर्षकहरु